बैतडी –बैतडीको गैराखानमा भएको बस दुर्घटना परेर घाइते भएका २४ जना मध्ये २२ जनाको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
एकजना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए । दशरथचन्द नगरपालिका–४ शाहीलेकका २१ बर्षीय सागर ठगुन्ना डडेल्धुरा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनले बताए ।
धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे तीन बजेतिर पाटन नगरपालिका–९ गैराखानमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए ।
घाइतेमध्ये एकजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने १४ जनाको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै चार जनाको धनगढीको केयर टेकर अस्पताल, एक जनाको सिपी अस्पताल र एकजनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै दुई जना उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल जाँदै गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेको छ । विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।





