बैतडी –बैतडीको गैराखानमा भएको बस दुर्घटना परेर घाइते हुनेको संख्या २० जना पुगेको छ । धनगढीबाट बैतडी आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे तीन बजेतिर पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १ सय मिटर तल खसेको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने पाटन नगरपालिका–६ का ३१ बर्षीय दिपक विक, नाम नखुलेका पाटन–८ का अन्दाजी ६० बर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ बर्षीया महिला रहेकी छन् । उनीहरुको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए ।
घाइतेमध्ये ९ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई धनगढी रेफर गरिएको छ । यस्तै बाँकी ९ जनालाई उपचारका लागि डडेल्धुरातर्फ लगिएको प्रहरी निरीक्षक तिमिल्सैनाले बताए ।
अन्य घाइतेहरुमा बस चालक पाटन नगरपालिका–३ का अन्दाजी २५ बर्षीय दिनेश भाट, ठेगाना नखुलेकी २५ बर्षीया दुरा बोहरा, पाटन नगरपालिका–६ का ४३ बर्षीय जनकप्रसाद पन्त, सोही ठाउँका ११ बर्षीय सिद्धार्थ भण्डारी, पाटन–६ कै ३१ बर्षीय मोहन पन्त, दशरथचन्द नगरपालिका–४ का सागर ठगुन्ना, सोही ठाउँकी ५४ बर्षीया निर्मला कार्की, पुर्चौंडी नगरपालिका –८ की ३५ बर्षीया रत्नाकुमारी भण्डारी र डडेल्धुराकी दिपा महरा रहेका छन् । \
यस्तै दशरथचन्द नगरपालिका–६ की धाना पहरी, ठेगाना नखुलेका ४० बर्षीय रमेश महर, ठेगाना नखुलेका १४ बर्षीय अरुण महर,सुर्नया गाउँपालिका–२ का ४० बर्षीय पुष्कर बिष्ट, सोही ठाउँकी २७ बर्षीय माया बिष्ट, पुर्चौंडी नगरपालिका–१ की ३५ बर्षीया अनुग्राकुमारी ठगुन्ना, र दशरथचन्द नगरपालिका–९ का २६ बर्षीय जनकराज जोशी पनि घाइते भएका छन् ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





