Sagun Khabar
बैतडीका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान 

बैतडी–बैतडीका तीन जना किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको छ । 

जिल्लाको सुर्नया गाउँपालिका–६ खर्काधारका रामदत्त अवस्थी, दशरथचन्द नगरपालिका–२ जोलघट्टका अजबहादुर बोहरा र दशरथचन्द नगरपालिका–५ पल्लाचौंडालीका वासुदेव भट्टलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । 

प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम अनुसार हरेक बर्ष तीन जना उत्कृष्ट किसानहरुलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिँदै आएको जोशीले बताए । 
उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन भरेका ६ जनामध्ये तीन जनालाई छनौट गरेर पुरस्कार प्रदान गरिएको जोशीले बताए । 

पुरस्कार प्राप्त गरेका अवस्थी विगत लामो समयदेखि तरकारी खेतीमा आवद्ध रहेका छन् भने बोहरा व्यवसायिक आलुखेतीमा आवद्ध रहेका छन् । 

यस्तै वासुदेव भट्ट लामो समयदेखि मौरीपालन व्यवसायमा आवद्ध रहेका छन् । किसानहरुलाई आफ्नो पेशामा लागिरहन प्रेरणा दिने उद्देश्यले पुरस्कार प्रदान गरिएको बताइएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update