Sagun Khabar
बैतडीको गाँजरी स्वास्थ्यचौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा पुनः सुचारु, गर्भवती आमाहरुलाई सहज 

बैतडी–बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरी स्वास्थ्यचौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा पुनः सुचारु गरिएको छ । २०८१ को भदौबाट अवरुद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारु भएको स्वास्थ्यचौकीका प्रमुख जनकसिंह धामीले बताए । 

अल्ट्रासाउण्ड सेवा सुचारु गर्नका लागि स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा शुरु गरिएको उनले बताए । गाँजरी स्वास्थ्यचौकीमा २०७७ भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपनि बीचमा तालिमप्राप्त कर्मचारीको अभावमा सेवा अवरुद्ध भएको थियो । 

सिनियर अनमी राईले तालिम लिएसँगै गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड सेवा सुचारु गरिएको स्वास्थ्यचौकी प्रमुख धामीले बताए । 

गाँजरी स्वास्थ्यचौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारु भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरु समेत लाभान्वित हुने स्वास्थ्यचौकी प्रमुख धामीले बताए । गाँजरीको आसपासमा रहेका सुर्नया गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरुले पनि सेवा पाउने धामीले बताए । 

ग्रामीण अल्ट्रासाउण्ड सेवा अवरुद्ध हुँदा सिगास गाउँपालिकाका गर्भवती आमाहरुले चेकजाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता अन्त्य भएको धामीले बताए । 

अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटीलताहरु समयमै पत्ता लाग्ने र यसले आमा र शिशु दुवैलाई सहयोग पुग्ने उनले बताए । केही जटीलताहरु भएमा समयमै सुविधा सम्पन्न अस्पतालहरुमा रेफर गर्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने धामीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update