बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले सामाजिक सञ्जालको दुरुपयोग गरेमा कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।
प्रशासनले बुधबार सात बुँदे सार्वजनिक सूचना जारी गर्दै शान्ति सुरक्षा र जनमानसको मनोविज्ञानमा असर पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको हो ।
सामाजिक सञ्जालमा कुनै व्यक्ति वा समुदायलाई अनावश्यक आक्षेप, गाली, बेइज्जती र अश्लिल शब्द र संकेत प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुने प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए ।
यस्तै सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र जनतालाई आतंकित पार्ने प्रकृतिका सूचना, समाचार र जानकारीहरु सम्प्रेषित नगर्न आग्रह गरिएको छ ।
यस्तै धार्मिक र सांस्कृतिक चाडपर्व मनाउने नाममा सार्वजनिक र्याली, जुलुस र समारोहमा नक्कली तथा सक्कली हतियारको प्रदर्र्शन र चलाउने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । मोटरसाइकलको साइलेन्सर परिमार्जन गरी सर्वसाधारणलाई आतंकित पार्ने गरी ठूलो आवाजमा मोटरसाइकल चलाउने कार्यमा पनि रोक लगाइएको छ ।
सार्वजनिक स्थलमा जुलुस निकाल्ने वाहनामा सामाजिक र धार्मिक सद्भाव भड्काउने खालका कार्यक्रम नगर्न प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । यस्तै सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने कार्यमा पूर्ण रुपमा रोक लगाइएको छ भने पूर्व स्वीकृति बिना समुदायलाई असर पार्ने गरी ठूलो आवाजमा माइक बजाउने, साउण्ड सिस्टम प्रयोग गर्ने कार्यमा समेत रोक लगाइएको छ ।
प्रशासनले जारी गरेको सार्वजनिक सूचनाको अवज्ञा गरेमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।






