बैतडी–बैतडीको सुर्नया गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउन एआइ एक्सरेको प्रयोग गरिएको छ ।
गाउँपालिकाका तीनओटा स्वास्थ्य संस्थाहरुमा खोजपड्ताल शिविर सञ्चालन गरेर एआइ एक्सरेबाट स्थानीयहरुको छाती जाँच गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
वासुलिङ्ग स्वास्थ्यचौकी, रौलेश्वर स्वास्थ्यचौकी र शिखरपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा ३ सय ८९ महिला र २ सय ९५ पुरुषको एआइ एक्सरेद्वारा छातीको जाँच गरिएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।
शिविरमा जाँच गरिएकामध्ये ७६ जना शंकास्पद क्षयरोगीहरुको खकारको नमूना संकलन गरेर थप परीक्षणका लागि जिल्ला अस्पतालको प्रयोगशालामा पठाएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
गाउँपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियान अन्तर्गत स्वास्थ्य निर्देशनालय दिपायलको प्राविधिक सहयोगमा सुर्नया गाउँपालिकाले खोजपड्ताल शिविर सञ्चालन गरेको हो ।
यही असार १४ गते वासुलिङ्ग स्वास्थ्यचौकी, असार १५ गते रौलेश्वर स्वास्थ्यचौकी र असार १६ गते शिखरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिएको थियो । सुर्नया गाउँपालिकामा चालु आर्थिक बर्षमा ८ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् ।
लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको छ भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने गर्दछ ।





