Sagun Khabar
हानिकारक प्रचलन अन्त्यका लागि किशोरकिशोरीसँग अन्तरक्रिया 

बैतडी–समाजमा रहेका विभिन्न हानिकारक प्रचलनहरुको अन्त्यका लागि किशोरकिशोरीहरुसँग अन्तरक्रिया गरिएको छ । 

बैतडीको पाटन नगरपालिका वडा नं २ को समन्वय र परोपकार ग्रामीण विकास संघको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको हो । 

समाजमा रहेका बालविवाह, लैङ्गिक हिंसा, महिनावारी विभेद लगायतका हानिकारक प्रचलन अन्त्यका लागि किशोरकिशोरीहरुसँग अन्तरक्रिया गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

परोपकार ग्रामीण विकास संघले हानिकारक प्रचलन अन्त्य र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि रुपान्तरण कक्षा सञ्चालन गरिरहेको छ । सोही कक्षामा आवद्ध किशोरकिशोरीहरुसँग वडा कार्यालयको समन्वयमा अन्तरक्रिया गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 

किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि र बालविवाह अन्त्यका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र यो कार्यमा सक्रिय किशोरकिशोरीहरुलाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पाटन नगरपालिका–२ का वडा अध्यक्ष महेशप्रसाद पन्तले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update