बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा क्षयरोगका बिरामीहरुको खोजीका लागि शिविर सञ्चालन हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म पालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालनको तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग र सुर्नया गाउँपालिकाको आयोजनामा शिविर सञ्चालनको तयारी भएको हो । शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत सम्भावित लक्षण तथा चिन्ह भएका व्यक्तिहरुको एक्सरे गरिने महराले बताए ।
समुदायमा रहेका बिरामीहरुको खोजीका लागि शिविरमार्फत सेवा दिने तयारी भएको हो ।
असार १४ गते सुर्नया गाउँपालिका–३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ भने असार १५ गते वडा नं ५ स्थित रौलेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । यस्तै असार १६ गते वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने उनले बताए ।
सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त पालिका अभियान सञ्चालनमा रहेको छ । अहिले पालिकाभरीका ८ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् ।
सुर्नयामा क्षयरोगमुक्त अभियान अन्तर्गत खोजपड्ताल शिविर सञ्चालन गर्न लागिएको हो । स्थानीय स्वास्थ्य संस्थामा सञ्चालन हुने शिविरमा सहभागी भएर जाँच गराउन गाउँपालिकाले आग्रह समेत गरेको छ ।
समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि शिविरको आयोजना गरिएको महराले बताए ।





