Sagun Khabar
बैतडी बस दुर्घटना : अस्ताए भुमेश्वर माविका शिक्षक चन्द 

बैतडी–बैतडीमा शुक्रबार भएको बस दुर्घटनामा परी भुमेश्वर मावि ठाँडका शिक्षक विरेन्द्रबहादुर चन्दको निधन भएको छ । 

दशरथचन्द नगरपालिका–६ सिमायल घर भएका ३५ बर्षीय चन्दको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको हो । धनगढीबाट बैतडी सदरमुकामतर्फ गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको थियो । 

पाटन नगरपालिका–४ ठाँडस्थित भुमेश्वर माविमा कार्यरत शिक्षक ठाँडबाटै बसमा चढेका थिए । शाहीलेक नजिकै भएको बस दुर्घटनामा उनको दुखद निधन भएको भुमेश्वर माविका प्रधानाध्यापक लक्ष्मीदत्त भट्टले बताए । आफ्नो घर सिमायल गइरहेका चन्द घर नपुग्दै भएको बस दुर्घटनामा अस्ताएका उनले बताए । 

विज्ञान शिक्षकको रुपमा कार्यरत चन्दको निधनले शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रधानाध्यापक भट्टले बताए । २०७२ सालदेखि भुमेश्वर माविमा कार्यरत शिक्षक चन्दले उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हालीसकेका थिए । 

शिक्षक चन्दको निधनले विद्यालय परिवार शोकमा डुबेको प्रधानाध्यापक भट्टले बताए । शुक्रबार दिनभर विद्यालयमा पठनपाठन कार्यमा संलग्न रहेका शिक्षक साँझको समयमा दुर्घटना परेर सधैंका लागि अस्ताएका छन् । 

शिक्षक चन्दको निधनले उनको गाउँ सिमायल पनि शोकमा डुबेको छ । गाउँको एक जना होनहार युवा दुर्घटनामा गुमेपछि गाउँ शोकमग्न भएको बताइएको छ । 

उक्त दुर्घटनामा १० जना घाइते भएका थिए । घाइते मध्ये ९ जना डिस्चार्ज भइसकेका र एकजनाको धनगढीस्थित मायामेट्रो हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

पाटन नगरपालिका–८ घर भएका ३७ बर्षीय केशवसिंह महराले चलाएको बस एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको रेको प्रहरीले जनाएको छ । चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update