बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारको निधन भएको छ । फेसबुकमा लामो स्टाटस लेख्दै लुहारले आत्महत्या गरेको बताइएको छ । फेसबुक स्टाटसमा उनले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् ।
कोटिला स्वास्थ्यचौकीमै कार्यरत एकजना अनमीमाथि लुहारले गएको महिना इट्टा प्रहार गरेर घाइते बनाएका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी अदालतबाट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उक्त मुद्दाको टुंगो नलाग्दै लुहारले काठमाण्डौंमा आत्महत्या गरेको आफन्तले बताएका छन् ।
यसैबीच पुर्चौंडी नगरपालिकाले आज शोक बिदा दिएको छ । कोटिला स्वास्थ्यचौकीमा कार्यरत लुहारको निधन भएको शोकमा नगरपालिकाले शोक बिदा दिएको हो ।
शुक्रबार नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालय, वडा कार्यालय,विद्यालय, स्वास्थ्य संस्था लगायतमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द रहेका नगरपालिकाले जनाएको छ ।





