बैतडी–बैतडीका एकजनाको बैंक खाता ह्याक गरेर तीन लाख रुपैयाँ चोरी भएको छ । जिल्लाका सुर्नया गाउँपालिका–३ बाँसका दलबहादुर बिष्टको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाता ह्याक गरेर चोरी भएको हो ।
यही जेठ २८ गते दिउँसो १२ देखि १ बजेको समयमा बैंक खाता ह्याक गरेर चोरी भएको उनले बताए । पहिला मोबाइलमा पाँच हजार रुपैयाँ झिकेको म्यासेज आएको र त्यसपछि मोबाइल बैंकिङबाट खाता खोल्दा खाता नै नखुलेको उनले बताए ।
तत्काल बैंकको सतबाँझस्थित शाखामा पुग्दा खाताबाट तीन लाख रुपैयाँ चोरी भइसकेको बिष्टले बताए । बिष्टको खाताबाट नितेशकुमार सिंहको नाममा रहेको सानीमा बैंक इटहरीमा रकम ट्रान्सफर भएको देखिएको छ । बैंक खाताबाट पैसा चोरी भएपछि अहिले खाता बन्द गरिएको छ ।
खाताबाट पैसा चोरी भएको बिषयमा प्रहरी र सम्बन्धित बैंकमा निवेदन दिइसकेको भएपनि कसले चोरी गरेको भन्ने कुरा खुल्न सकेको छैन् ।
आफ्नो खाताबाट रकम चोरी भएपछि आफूलाई मानसिक तनाव बढेको बिष्टले बताए । डिजिटल बैंकिङ सेवा सुरक्षित नहुँदा यस्तो समस्या भोग्नुपरेको उनले गुनासो गरे । परिश्रम गरेर कमाएको पैसा चोरी भएपछि निकै समस्या भएको उनले बताए ।
वासुलिङ्ग स्वास्थ्यचौकी प्रमुखको रुपमा कार्यरत रहेका बिष्टले बैंक खाता ह्याक गरेर रकम चोरी गर्ने गिरोहको पहिचान गरी कानुनी कारवाही गर्न माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालयले भने बिष्टले दिएको निवेदनका बिषयमा औपचारिक रुपमा अनुसन्धान शुरु भएको जनाएको छ ।





