Sagun Khabar
कपडा बैंक बैतडीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण 

बैतडी–बैतडीको मेलौली नगरपालिका–१ स्थित जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा बैंक बैतडीले झोला र कापी लगायतका शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ३५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला र कापी वितरण गरिएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले जानकारी दिए । आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । 

कपडा बैंक बैतडीले ‘हुनेले दिएर जाऔँ, नहुनेले लगेर जाऔँ’ भन्ने नाराका साथ विगतदेखि नै सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । बैंकले विभिन्न समयमा आवश्यकताअनुसार लुगा, कपडा तथा अन्य सामग्री संकलन गरी विपन्न तथा असहाय व्यक्तिहरूलाई वितरण गर्दै आएको छ ।

यस्तै गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको संस्थाले जनाएको छ ।

कार्यक्रममा विद्यालय परिवारले कपडा बैंक बैतडीको यस अभियानले विद्यार्थीहरूमा पढाइप्रति थप उत्साह र हौसला थप्ने विश्वास व्यक्त गरेका छन् । 

सामाजिक सहकार्य र मानवीय सेवामार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको कपडा बैंक बैतडीको अभियानलाई स्थानीयवासीले समेत प्रशंसा गरेका छन् । समस्यामा परेका नागरिकहरुलाई सेवा गर्ने उद्देश्यले कपडा बैंकले अभियान सञ्चालन गरिरहेको संयोजक भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update