Sagun Khabar
किशोरकिशोरीमैत्री सूचना केन्द्र प्रभावकारी बन्दै 

बैतडी- बैतडीमा किशोरकिशोरीका यौन तथा प्रजनन स्वास्थ्यका समस्या समाधानका लागि विद्यालयमा सञ्चालनमा ल्याएका किशोरकिशोरीमैत्री सूचना केन्द्र प्रभावकारी बन्दै गएका छन् । किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा जानकारी हुन थालेको ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । उनले भने ‘किशोरकिशोरीमैत्री सूचना केन्द्र नहुँदा बालबालिकाहरु यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा बोल्दैनथे । उनीहरु यो बिषयमा कुराकानी गर्न निकै लजाउने गर्दथे । तर अहिले यो बिषयमा सबैले चासो लिन थालेका छन् ।’

किशोरकिशोरीमैत्री सूचना केन्द्रले आफूहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा निकै सचेत भएको ज्ञानेश्वर माविकी छात्रा मञ्जु भण्डारीले बताइन् । उनले भनिन् ‘हामी पहिला कक्षामै यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा पठनपाठन हुँदा निकै लजाउने गथ्र्यौं । तर अहिले हामी यो बिषयमा खुलेर छलफल गर्न थालेका छौं । यसले हामीलाई पनि निकै सजिलो भएको छ ।’

Atrya hospital

किशोरकिशोरीमैत्री सूचना केन्द्रमा बृहत यौनिकता शिक्षाका बारेमा छलफल हुने गरेको ज्ञानेश्वर माविका छात्र नारददेव भट्टले बताए । उनले भने ‘हामीले किशोरकिशोरीमैत्री सूचना केन्द्रबाट धेरै कुराको ज्ञान पाएका छौं । यसले हामीलाई समाजमा रहेका विभिन्न खालका हानिकारक प्रचलन अन्त्य गर्न पनि सहयोग मिलेको छ ।’

बैतडीका १८ ओटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र रहेका छन् । ती केन्द्रमा किशोरकिशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा विभिन्न जानकारी पाउने गरेका छन् । किशोरकिशोरीमैत्री सूचना केन्द्रहरुमा विभिन्न खालका जानकारीमूलक पुस्तकहरु राखिएका छन् भने प्रत्येक विद्यालयमा फोकल शिक्षक समेत तोकिएका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । उनले भने ‘किशोरकिशोरी मैत्री सूचना केन्द्रले विद्यालयका बालबालिकाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य, बृहत यौनिकता शिक्षा लगायतका बिषयमा ज्ञान भएको छ ।’

किशोरकिशोरी मैत्री सूचना केन्द्रले महिनावारी भएको बेला हुने विभेद पनि कम भएको किशोरीहरुले बताएका छन् । सूचना केन्द्रबाट आफूहरुले धेरै कुरा थाहा पाएको किशोरी यशोदा बिष्टले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update