अछाम –अछाममा जिप दुर्घटना हुुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बा प्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए ।
उनकाअनुुसार दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ बर्षीय नविन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ बर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुवै जनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ बर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ । उनीहरुको पनि सुर्खेतमै उपचार भइरहेको छ ।
घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।





