बैतडी–बैतडीमा २१ वर्षीया सरीता भट्ट र स्वस्तिका बिष्ट प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन (२०८१) मा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । बैतडीको मेलौली नगरपालिका –२ घर भएकी भट्ट शुक्रबार भएको क्षेत्रीय अधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएकी हुन् ।
प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि सरिताले कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा ३५ वर्षमुनिको समूहबाट प्रदेश सदस्यमा उम्मेदवारी दिने प्रतिक्रिया दिएकी छन् । लोकतान्त्रिक पार्टीमा युवाको आकर्षण बढाउन आफ्नो उम्मेदवारी रहने उनले बताइन् ।
यस्तै पाटन नगरपालिका –६ घर भइ पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य २१ वर्षीया स्वस्तीका बिष्ट पनि प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । परिवारको राजनीतिक पृष्ठभूमि र लोकतान्त्रिक पार्टीप्रतिको आस्था थप बलियो बन्दै गएकाले आफू मूलधारको राजनीतिमा आएको बिष्टले बताइन् ।
बुवाको राजनीतिक प्रेरणाबाट आफू प्रेरित भएर राजनीतिमा लागेको उनले बताइन् । कांग्रेसमा युवा प्रतिनिधिहरूले व्यापक स्थान पाइरहेकाले पार्टी रूपान्तरण हुँदै गएको आफूले महसुस गरेको पनि उनले बताइन् ।




