बैतडी–लगातार भइरहेको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा यातायात बन्द गरिएको छ । लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी,अछाम र बाजुरामा यातायात बन्द गरिएको हो ।
यी जिल्लाहरूमा आज बिहानदेखि सोमबार बिहानसम्म लामो तथा छोटो दूरीका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुरालाई अति जोखिमयुक्त जिल्लाको सूचीमा राखेको र असोज ९ गते दिउँसोदेखि लगातार वर्षा भइरहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । अत्यावश्यक वा आकस्मिक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।




