Sagun Khabar
बैतडीको दनपाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने भएको छ । २० बर्ष भन्दा मुनिको विवाह गैरकानुनी कार्य भएकाले त्यसलाई रोक्नका लागि रणनैतिक योजना बनाएर अघि बढ्ने नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । 

दशरथचन्द नगरपालिकालाई केही बर्ष अगाडि बालमैत्री घोषणाको तयारी भएको भएपनि बालविवाहकै कारण त्यो सम्भव नभएको उनले बताए । बालविवाहले समाजमा विभिन्न खालका नकारात्मक प्रभाव पारिरहेकाले त्यसको अन्त्यका लागि रणनैतिक योजना बनाइने उनले बताए । 

Atrya hospital

बालविवाह सामाजिक, वैज्ञानिक र शास्त्रीय हिसाबले पनि नराम्रो कार्य भएकाले यसको अन्त्यका लागि समाजका सबै वर्ग लाग्नुपर्ने दशरथचन्द नगरपालिका ३ का वडा अध्यक्ष दामबहादुर क्षेत्रीले बताए । समाजमा हुने बालविवाह रोकथामका लागि वडा कार्यालयबाट गर्न सकिने सबै प्रयास गरिने उनले बताए । 

बालविवाह गैरकानुनी कार्य हो भन्ने बिषयमा सबैलाई जानकारी गराउनुपर्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । बालविवाहको अन्त्यका लागि प्रत्येक विद्यालयहरुमा समेत सचेतना कक्षा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

बैतडीमा बालविवाह अन्त्यका लागि संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए), नेपाल रेडक्रस सोसाइटी लगायतका गैरसरकारी निकायहरुले पनि प्रयास गर्दै आएका छन् । 

बालविवाह अन्त्यका लागि जिल्लाका विभिन्न स्थानीय तहमा रुपान्तरण कार्यक्रम मार्फत सचेतीकरणका कार्यक्रम सञ्चालन भईरहेका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । गाउँगाउँमा किशोरकिशोरी समूह गठन गरेर बालविवाह अन्त्यका लागि प्रयास भईरहेको उनले बताए । 

बैतडी पनि बालविवाह धेरै हुने जिल्ला मध्ये पर्ने भएकाले जिल्लामा बालविवाह अन्त्यका लागि स्थानीय सरकारहरुले आवश्यक योजना बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update