Sagun Khabar
बैतडीमा १६ हजार बढी बालबालिकाहरुको पोषण लेखाजोखा गरिँदै 

बैतडी–बैतडीमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण लेखाजोखा गर्ने कार्य भइरहेको छ । देशव्यापी अभियानअन्तर्गत जिल्लाका ८४ ओटै वडामा बालबालिकाहरुको पोषण लेखाजोखा गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

पोषणको स्थिती थाहा पाउनका लागि जिल्लाभरी स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुको पोषण लेखाजोखा गरिरहेका उनले बताए । यही वैशाख १५ गतेदेखि शुरु भएको अभियान अन्तर्गत अहिलेसम्म जिल्लामा ७ हजार ९६ जना बालबालिकाहरुको जाँच गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । जाँच गरिएका मध्ये ४ सय ८ जना बालबालिकामा कुपोषण देखिएको छ । ७३ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने ३ सय ५५ जना मध्यम शीघ्र कुपोषण देखिएको छ । 

बैतडीमा १६ हजार ४ सय २७ जना बालबालिकाहरुको पोषण लेखाजोखा गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए । बालबालिकाहरुको पोषणको अवस्था जाँच गरेर कुपोषित बालबालिकाहरुलाई उपचारको दायरमा ल्याउने लक्ष्य रहेको उनले बताए । 

बालबालिकाहरुको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरेर पोषणस्थिती पत्ता लगाउने गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । 

पाखुराको नाप लिँदा १ सय १५ मिलिमिटर भन्दा कम भएका बालबालिकाहरु कडा शीघ्र कुपोषणको सूचीमा पर्दछन् । यस्तै १ सय १५ मिलिमिटर भन्दा बढी र १ सय २५ मिलिमिटर भन्दा कम नाप भएका बालबालिकाहरुको मध्यम शीघ्र कुपोषणको सूचीमा पर्ने गरेका छन् । 

यस्तै बालबालिकाहरुको उचाइ अनुसारको तौल भए नभएको समेत जाँच गर्ने गरिएको छ । उचाइ अनुसारको तौल नभएका बालबालिकाहरुलाई क्पोषित बालबालिकाहरुको सूचीमा राख्ने गरिएको छ । 

बालबालिकाहरुको पोषणको अवस्था जाँच गरेर कुपोषित बालबालिकाहरुको व्यवस्थापनका लागि यो अभियान सञ्चालन गरिएको भट्टले बताए । वैशाख ३० गतेसम्म सञ्चालन हुने अभियानपछि कुपोषित बालबालिकाहरुको संख्या यकिन हुने र त्यसपछि उनीहरुका लागि व्यवस्थापन कार्यक्रम सञ्चालन हुने भट्टले बताए । 

अभियान अन्तर्गत बालबालिकाहरुका साथै सुनौलो हजार दिनका आमाहरुको पनि पोषणस्थितीका बिषयमा लेखाजोखा गर्ने कार्य भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update