बैतडी–बैतडीमा प्रहरीले समुदाय र विद्यालय केन्द्रित कार्यक्रम जारी राखेको छ । गएको साउन महिनामा समुदाय र विद्यालय केन्द्रित १ सय ५७ ओटा कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
समुदाय र प्रहरी मिलेर अपराध न्यूनीकरण गर्ने, नागरिकलाई विभिन्न बिषयमा जानकारी दिने, लागू औषध नियन्त्रणका लागि पहल गर्ने, लैङ्गिक हिंसा, घरेलु हिंसा न्यूनीकरणका लागि समुदाय र विद्यार्थीहरुलाई सक्रिय बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
एक महिनाको अवधिमा १४० ओटा समुदाय केन्द्रित र १७ ओटा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रहरीले सञ्चालन गरेको कार्यक्रममा १ हजार ४ सय ४९ पुरुष र ४ सय ६७ महिला गरी १ हजार ९ सय १९ जना सहभागी भएका थिए ।
जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट यी कार्यक्रम सञ्चालन भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । समुदाय र प्रहरीबीचको सम्बन्धलाई बलियो बनाउन र अपराध न्यूनीकरणमा यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहेको प्रहरीले जनाएको छ ।




