Sagun Khabar
विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न आग्रह 

बैतडी –शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न आग्रह गरेको छ । 

इकाइले जिल्लाका १० ओटै स्थानीय तहहरुलाई परिपत्र गर्दै नेपाल सरकारबाट केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी भइ त्यस अन्तर्गत शिक्षा ऐनको दफा १२ उपदफा १ को खण्ड (ग)मा भएको व्यवस्था झिकिएकाले सोही अनुसार समिति गठन गर्न आग्रह गरेको हो । 

शिक्षा ऐन २०२८ संशोधनसहित दफा १२ को उपदफा १ को खण्ड (ग) मा विद्यालयको संस्थापक, स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी, विद्यालयलाई १० बर्षदेखि निरन्तर सहयोग गर्दै आएको वा विद्यालयलाई १० लाख वा सो भन्दा बढी नगद÷जिन्सी सहयोग गरेका व्यक्तिहरुबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको एकजना महिलासहित दुई जना सदस्य रहने व्यवस्था रहेको थियो । उक्त व्यवस्था अध्यादेशबाट हटाएकाले समिति पुनर्गठनका लागि सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका निमित्त प्रमुख पुष्करराज शर्माले बताए । 

बैतडीका कतिपय विद्यालयको नेतृत्वमा सोही खण्डबाट मनोनित भएका व्यक्तिहरु भएकाले विद्यालयहरुलाई समिति पुनर्गठन गर्न भनिएको हो । 

बैतडीमा ५ सय ९ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था शिक्षा ऐनमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update