Sagun Khabar
प्रअमाथि कालोमोसो दलेको आरोपमा पक्राउ परेकामाथि ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा अनुसन्धान हुँदै 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–४ लोजनीस्थित पिपलकोट माविका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलेर जुत्ताको माला लगाएको आरोपमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

बिहीबार दिउँसो प्रधानाध्यापक ओझामाथि अभद्र व्यवहार गरेका शिवनाथ गाउँपालिका–४ का ४२ बर्षीय प्रेमसिंह महता, उनकी श्रीमती ३७ बर्षीया तारा महता, प्रेमसिंहका भाइ ३८ बर्षीय मोहनसिंह महता र उनकी श्रीमती ३४ बर्षीया शकुन्तला महतालाई प्रहरी शुक्रबार दिउँसो पक्राउ गरेको थियो । 

पक्राउ परेका चारैजनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

यो घटनाका बिषयमा सुक्ष्म रुपले अनुसन्धान भइरहेको र अनुसन्धानपछि फाइल जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी निरीक्षक बडूले बताए । 

महता परिवारका सदस्यहरुले बिहीबार दिउँसो विद्यालयमै पुगेर प्रधानाध्यापक ओझामाथि कालोमोसो दलेर जुत्ताको माला लगाएका थिए । उनीहरुले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ लेखिएको पम्प्लेट समेत हालेका थिए ।

पिपलकोट माविमा प्राथमिक तहको शिक्षक भर्नाको बिषय यो घटनासँग जोडिएको देखिएको छ । गएको वैशाख १२ गते प्रअ ओझाले महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ । आफूमाथि प्रअले दुर्व्यवहार गरेको आरोप लगाएकी महिला शिक्षकको परीक्षामा अनुत्तीर्ण भएपछि उक्त घटना भएको दाबी गरिएको छ । 

पिपलकोट माविमा एक जना प्राथमिक तहको शिक्षक भर्नाका लागि आवदेन आह्वान गरेकोमा १७ जनाले आवेदन दिएको र १४ जना परीक्षामा सहभागी भएका थिए । सहभागी मध्ये ती महिला पनि परीक्षामा सहभागी भएकी र अनुत्तीर्ण भएकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदले बताए । 

परीक्षा हुनु अघि ती महिलाले प्रअ ओझासँग आर्थिक लेनदेनको बिषय समेत राखेको तर आफूले परीक्षा निष्पक्ष हुनुपर्छ भनेको अध्यक्ष साउँदले बताए । 

शिक्षक भर्नाकै बिषयसँग जोडिएर प्रअमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने काम भएको अध्यक्ष साउँदको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update