Sagun Khabar
प्रअमाथि कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा चार जना पक्राउ 

बैतडी –बैतडीमा प्रधानाध्यापकमाथि कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा चार जना पक्राउ परेका छन् । 

शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार कालोमोसो दल्दै जुत्ताको माला लगाएको थियो । प्रधानाध्यापक ओझाले एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्य गरिएको थियो । 

प्रधानाध्यापक ओझामाथि कालोमोसो र जुत्ताको माला लगाएको कुरा सामाजिक सञ्जालबाट व्यापक भएपछि प्रहरीले यो घटनामा चासो देखाएको थियो । प्रअमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

पक्राउ पर्नेमा ओझाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउने ३८ बर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका प्रहरी निरीक्षक बडूले बताए । 

चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्नहरुलाई कानुन बमोजीम कारवाही गरिने प्रहरीले जनाएको छ । महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुताको माला लगाएर सार्वजनिक रुपमा बेइज्जत गरेका थिए । उनीहरुले ओझाको घाँटीमा म अपराधी हुँ भन्ने पम्प्लेट समेत हालेका थिए ।

गत वैशाख १२ गते महिलामाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार महताको परिवारले ओझामाथि कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएको थियो । 

पिपलकोट माविमा प्राथमिक तहको शिक्षक भर्नाको बिषय यो घटनासँग जोडिएको देखिएको छ । आफूमाथि प्रअले दुर्व्यवहार गरेको आरोप लगाएकी महिला शिक्षकको परीक्षामा अनुत्तीर्ण भएपछि उक्त घटना भएको दाबी गरिएको छ । 

पिपलकोट माविमा एक जना प्राथमिक तहको शिक्षक भर्नाका लागि आवदेन आह्वान गरेकोमा १७ जनाले आवेदन दिएको र १४ जना परीक्षामा सहभागी भएका थिए । सहभागी मध्ये ती महिला पनि परीक्षामा सहभागी भएकी र अनुत्तीर्ण भएकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदले बताए । 

परीक्षा हुनु अघि ती महिलाले प्रअ ओझासँग आर्थिक लेनदेनको बिषय समेत राखेको तर आफूले परीक्षा निष्पक्ष हुनुपर्छ भनेको अध्यक्ष साउँदले बताए । 

शिक्षक भर्नाकै बिषयसँग जोडिएर प्रअमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने काम भएको अध्यक्ष साउँदको भनाइ छ । 

यता दुर्व्यवहार भएको भनिएकी महिलाका परिवारले भने महिलामाथि प्रअले विद्यालयमै बोलाएर दुर्व्यवहार गरेपछि आक्रोशित आफन्तले कालोमोसो दलेको दाबी गरेका छन् । 

प्रहरीले यो घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । घटनाका बिषयमा सवत्र चासो देखिएकाले यो घटनामा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update