बैतडी –डिभिजन वन कार्यालय बैतडीले अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि एमाले बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा लामो समयदेखि बसोबास गरिरहेका नागरिकहरुको वैकल्पिक व्यवस्था बिना घरटहरा हटाउँदा समस्या उत्पन्न हुने एमालेले जनाएको छ । संविधानले प्रत्येक नागरिकलाई सुरक्षित आवाससहित बाँच्न पाउने हकको सुनिश्चित गरेकाले यो तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
एमाले बैतडीका अध्यक्ष नरेश विश्वकर्माद्वारा जारी विज्ञप्तीमा सामाजिक न्याय, समानता र जनअधिकार पक्षमा एमाले दृढतापूर्वक उभिने उल्लेख गरिएको छ । सुकुम्बासी समुदाय तथा नागरिकमाथि अन्याय हुने कुनै पनि कदमको सशक्त रुपमा विरोध गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सुकुम्बासी तथा अव्यवस्थित समुदायलाई विस्थापित गराउँदा गम्भीर विवाद सिर्जना हुनेतर्फ सचेत रहन समेत एमाले बैतडीले आग्रह गरेको छ ।
डिभिजन वन कार्यालयले यही वैशाख २१ गते एक सूचना जारी गर्दै १५ दिनभित्र अतिक्रमित वन क्षेत्र खाली गर्न आग्रह गरेको थियो । १५ दिनभित्र अतिक्रमित वन क्षेत्र खाली नगरिए कानुन अनुसार अघि बढ्ने सूचनामा उल्लेख गरिएको छ ।
बैतडीको ढोल्यामोड, गिरिजाबगर, जमिटाँड,रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्याखोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढीचौर, डडिया, खोचलेक लगायत क्षेत्रमा वन अतिक्रमण गरी संरचना निर्माण गरिएका डिभिजन वन कार्यालयले जनाएको छ ।
यस्तै गिवाखोला, भूमीराज सुनुवागढी लगायतका सामुदायिक वनहरुको समेत क्षेत्र अतिक्रमणमा परेकाले ती क्षेत्रहरु खाली गर्न सूचनामार्फत आग्रह गरिएको जनाइएको छ ।
बैतडीमा ११०.४ वन क्षेत्र अतिक्रमणमा परेका डिभिजन वन कार्यालयले जनाएको छ ।





