Sagun Khabar
बैतडीमा एक विद्यालयका प्रधानाध्यापकमाथि कालोमोसो र जुत्ताको माला 

बैतडी–बैतडीमा एक विद्यालयका प्रधानाध्यापकमाथि कालोमोसो दलिएको घटना बाहिर आएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–४ पिपलकोट माविका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलिएको हो । 

एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै बिहीबार दिउँसो ती महिलाका आफन्तले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएका हुन् । 

उक्त विद्यालयमा एक जना प्राथमिक तहको शिक्षक लागि आवदेन खुल्ला गरिएको थियो । शिक्षकका लागि आवेदन दिने महिलाले आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएपछि उक्त घटना भएको बताइएको छ । 

यो बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदसँग बुझ्दा बिहीबार दिउँसो विद्यालय प्रांगणमै प्रधानाध्यापक ओझामाथि उक्त घटना भएको बताए । दुर्व्यवहार भएको भनिएका महिलाका आफन्तहरुले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएको अध्यक्ष साउँदले बताए । 

विद्यालयमा शिक्षक भर्नाका बिषयमा ती महिलाले आफूलाई राख्नुपर्ने भन्दै प्रधानाध्यापक ओझासँग आर्थिक प्रलोभनको कुरा समेत राखेको अध्यक्ष साउँदले बताए । आफूले जुनसुकै हालतमा पनि निष्पक्ष परीक्षा गरेर शिक्षक भर्ना गर्न भनेको अध्यक्ष साउँदले बताए । दुर्व्यवहार भएको भनिएकी ती महिला पहिलो पेपरमै अनुत्तीर्ण भएकी थिइन् । त्यसपछि उनका आफन्तले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्य गरेका हुन् । अध्यक्ष साउँदले भने, ‘प्रधानाध्यापक ओझामाथि बिहीबार यो घटना भएको हो । मैले महिलाका आफन्तहरुलाई पनि सम्झाएको हुँ । तर उनीहरुले प्रधानाध्यापक ओझामाथि कालोमोसो दलेर जुत्ताको माला लगाएका हुन् । यो घटनामा जो दोषी देखिन्छ, उसलाई कारवाही हुनैपर्छ ।’

प्रधानाध्यापक ओझाले बिहीबार नै पदबाट राजीनामा दिइसकेका छन् । 

महिला पक्षका आफन्तले भने महिलामाथि दुर्व्यवहार भएकै कारण आक्रोशित भएर कालोमोसो दलेको बताएका छन् । एक आफन्तले भने, ‘प्रधानाध्यापक ओझाले केही दिन पहिला विद्यालयमा महिलालाई बोलाएर दुर्व्यवहार गरेकै हुन् । सोही कारण यो घटना भएको हो ।’

यता प्रहरीले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी कार्य भइरहेको जनाएको छ । उक्त घटनामा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको र दोषी जो सुकै भएपनि कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । उनले भने, ‘कानुनभन्दा माथि कोही पनि छैन् । यो घटनामा दोषीलाई कानुन अनुसार कारवाही हुन्छ । हामीले घटनाका बिषयमा अनुसन्धान शुरु गरिसकेका छौं ।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update