Sagun Khabar
बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन, मन्त्री भट्टले गरे उद्दघाटन 

बैतडी–बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ । मेलौली नगरपालिका वडा नं १ मा आजदेखि इलाका प्रशासन कार्यालयले सेवा दिन थालेको हो । 

इलाका प्रशासन कार्यालयको आज एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले उद्दघाटन गरे । इलाका प्रशासन कार्यालयको उद्दघाटन गर्दै उनले तल्लोसोराड क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । 

इलाका प्रशासन कार्यालय उद्दघाटन कार्यक्रममा मन्त्री भट्टका साथै मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्ट, मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । 

मेलौली नगरपालिका–७ का दिपक अवस्थीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्दै इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । 

मेलौली इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सहज हुने भएको छ । इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र लगायतका प्रशासनिक सेवाहरु प्रदान गरिने इलाका प्रशासन कार्यालयका प्रमुख भट्टले बताए । 

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई प्रशासनिक सेवा सहज र सुलभ रुपमा प्राप्त हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । इलाका प्रशासन कार्यालय स्थापना भएपछि अब नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । 

मेलौलीमै इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोसोराड क्षेत्रका नागरिकहरुलाई सहज भएको स्थानीय करनसिंह नेगीले बताए । 

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै इलाका प्रशासनको संख्या दुई पुगेको छ । पुर्चौंडी नगरपालिकाको हाटमा यसअघि नै सञ्चालनमा रहेको इलाका प्रशासन कार्यालयले सेवा दिँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update