Sagun Khabar
बैतडीको बचकोटमा कृषक पाठशाला स्थापना 

बैतडी–बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा कृषक पाठशाला स्थापना गरिएको छ । किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला स्थापना गरिएको हो । 

सारथी नेपालले एफसीए नेपालको सहयोगमा सञ्चालन गरिरहेको दिगो आम्दानी मार्फत महिला उद्यमीहरूको सशक्तीकरण परियोजना अन्तरगत जलवायुमैत्री कृषक पाठशाला सञ्चालन गरिएको परियोजना संयोजक भूपाल बोहराले जानकारी दिए । 

पाठशालाले कृषकहरूलाई तरकारी खेती सम्बन्धि परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादनमा वृद्धि गर्न टेवा पु¥याउने उनले बताए । कृषि प्राविधिकले कृषककै बारीमा गएर आधुनिक प्रविधि र परम्परागत विधिबाट खेती गर्दा कुनमा फाइदा हुन्छ भन्ने कुरा सिकाउने बोहराले बताए । 

अहिले उद्यमी महिला समूहका २५ जनाको सहभागितामा कृषक पाठशाला सञ्चालन गरिएको छ । बन्दा खेतीका लागि कृषक पाठशाला सञ्चालन गरिएको हो । आधुनिक प्रविधि र परम्परागत प्रविधि गरेर दुवै तरीकाबाट बन्दा खेती गरिएको बताइएको छ । आधुनिक प्रविधिबाट खेती गर्दा उत्पादनमा वृद्धि हुने भएकाले सो बिषयमा किसानहरुलाई व्यवहारिक ज्ञान दिन कृषक पाठशाला सञ्चालन गरिएको हो । 

यसअघि यस परियोजनाबाट सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा पनि कृषक पाठशाला सञ्चालन गरिएको थियो । 

रासायनिक विषादीको प्रयोगमा कमी ल्याउँदै तरकारी खेतीमा अन्य वैकल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गरिएको बोहराले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update