Sagun Khabar
अतिक्रमित वन क्षेत्र पन्ध्र दिनभित्र खाली गर्न डिभिजन वन बैतडीको आग्रह 

बैतडी–डिभिजन वन कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा अतिक्रमणमा परेको वन क्षेत्र १५ दिनभित्र खाली गर्न आग्रह गरेको छ । 

कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी केही व्यक्ति, संस्था र निकायले अनधिकृत संरचना निर्माण गरेकाले ती संरचनाहरु १५ दिनभित्र हटाउन आग्रह गरेको छ । 
जिल्लाको ढोल्यामोड, गिरिजाबगर, जमिटाँड,रसेडाखाली, रुइनचौर बजार, साँफे बजार, उचापत्थर, टकरे, जुकेपानी, भड्याखोला, गर्जे, ठाँड, चाप, लमखोला, सिरोडा, मुस्याचौर, बुढीचौर, डडिया, खोचलेक लगायत क्षेत्रमा वन अतिक्रमण गरी संरचना निर्माण गरिएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए । 

यस्तै गिवाखोला, भूमीराज सुनुवागढी लगायतका सामुदायिक वनहरुको समेत क्षेत्र अतिक्रमणमा परेकाले ती क्षेत्रहरु खाली गर्न सूचनामार्फत आग्रह गरिएको गिरीले बताए । 

वन ऐन २०७६ को दफा ४९ (ग) ले वन क्षेत्र अतिक्रमण निषेध गरेकाले अतिक्रमण गरिएका ठाउँमा १५ दिनभित्र खाली नगरे प्रचलित कानुन अनुसार अघि बढ्ने डिभिजन वन कार्यालयले जनाएको छ । अतिक्रमित वन क्षेत्र खाली गराउने कार्यमा सहयोग गरिदिन स्थानीय सरकारहरुलाई समेत आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख गिरीले बताए । 

डिभिजन वन कार्यालयका अनुसार बैतडीमा ११०.४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित क्षेत्रमा विभिन्न व्यक्ति, संस्था र निकायहरुले घर टहरा, पक्की घर तथा खेतीपाती गर्ने गरेको बताइएको छ । 

यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउनका लागि कार्ययोजना बनाउन स्थानीय तहहरुलाई आग्रह गरेको थियो ।   
 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update