Sagun Khabar
बैतडीको पञ्चेश्वरका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी 
फाइल फोटो

बैतडी –भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकाका २० जना भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण तयारी गरेको छ । 

गाउँपालिकाले प्रमाणीकरण गरेका ५९ जना भूमिहीन सुकुम्बासीमध्ये पहिलो चरणमा २० जनालाई लालपूर्जा वितरण तयारी भएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । 

भूमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि जग्गाको बिषयमा हकदाबी पेश गर्न सात दिने सूचना समेत प्रकाशन गरिएको छ । गाउँपालिकासँगको समन्वयमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि नापजाँच गरिएको जग्गा उपलब्ध गराउने तयारी भएको हो । 

पहिलो चरणमा २० जना भूमिहीन सुकुम्बासीले प्राप्त गर्ने जग्गाको विवरणसहित हकदाबीको सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ । 

सातदिने सूचनापछि भूमिहीन सुकुम्बासी भनिएकाहरुको तिनपुस्ते विवरण मालपोत कार्यालयमा बुझाइने र उनीहरुको नाममा कुनै ठाउँमा जग्गा ÷जमीन नभएको एकीन गरिने आयोगका जिल्ला अध्यक्ष पाण्डेयले बताए । 

यी सबै प्रक्रिया पूरा गरेपछि भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा उपलब्ध गराइने बताइएको छ । 

बैतडीको पञ्चेश्वर गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको क्षेत्रमा सक्रियतापूर्वक काम गरेको आयोगको जिल्ला समितिले जनाएको छ । 

जिल्लाका अन्य स्थानीय तहहरुले प्रमाणीकरणको काम अगाडि नबढाएकाले पूर्जा वितरणको प्रक्रिया शुरु हुन नसकेको बताइएको छ । 

पञ्चेश्वरमा मात्रै ५९ जना भूमिहीन परिवार रहेका छन् भने चार सयको हाराहारीमा अव्यवस्थित बसोबासी रहेका छन् ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update