बैतडी–बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्लाभरी ८६ हजार ५८१ हेक्टर वन क्षेत्रमध्ये ११०.४ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकाको सीमा क्षेत्र ढोले बजारमा वन क्षेत्र अतिक्रमणमा परेको छ । पुर्चौंडी नगरपालिकाको गिरिजाबगर, वडा नं २ को जमीटाड, वडा नं ७ को रुइनचौरमा पनि वन क्षेत्र अतिक्रमणमा परेको छ ।
यस्तै पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाको सीमा क्षेत्र रसेडाखाली, पुर्चौैंडी नगरपालिका वडा नं २ र ३ को सीमा क्षेत्र साँफेबगर बजार क्षेत्रमा वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए ।
यस्तै सिगास गाउँपालिकाको टकरे, जुकेपानी, गर्जे, मडेखोला लगायतका क्षेत्रमा वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिलाशैनी गाउँपालिकाको दुलर्भ सामुदायिक वन, दशरथचन्द नगरपालिका–९ स्थित गिवाखोला सामुदायिक वन, दनपा १ स्थित रतेडी सामुदायिक वन, मेलौली नगरपालिकाको कृष्ण सामुदायिक वन र दुर्गा वेताल सामुदायिक वनको केही क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयका प्रमुख गिरीले बताए ।
पाटन बजार क्षेत्र, डिलाशैनीको बुढीचौर लगायतका ठाउँमा वन क्षेत्रमा अतिक्रमण भएको बताइएको छ ।
अतिक्रमण भएका धेरै ठाउँमा सडक पुगेपछि घर तथा पसलहरु बनाइएका छन् भने केही ठाउँमा व्यक्तिहरुले जग्गा जमीन बनाएको पाइएको डिभिजन वन अधिकृत गिरीले बताए ।





