Sagun Khabar
इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट सेवा सुचारु 

बैतडी–नयाँ कार्यालय प्रमुख हाजिर भएसँगै इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट सेवा सुचारु भएको छ । 

गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत नायब सुब्बा उत्तमबहादुर बिष्टलाई इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख जिम्मेवारी दिएपछि गएको सोमबारदेखि सेवा सुचारु भएको हो । 
गएको मंसिरदेखि इलाका प्रशासन कार्यालय प्रमुख विहिन हुँदा सेवा प्रभावित भएको थियो । नयाँ कार्यालय प्रमुख हाजिर भएपछि इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र र नाबालिग परिचय पत्र वितरण लगायतका कामहरु सुचारु भएका छन् । 

इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख खटाइएपछि पुर्चौंडी क्षेत्रका नागरिकलाई सहज भएको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, नाबालिग परिचय पत्र बनाउनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता तत्कालका लागि अन्त्य भएको स्थानीयहरुले बताएका छन् । 

गृहमन्त्रालयले नायब सुब्बा बिष्टलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका कार्यालय प्रमुख जिम्मेवारी दिएर पठाएकाले अब सेवा अवरुद्ध नहुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update