बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चालनमा ल्याएको नगर बसको भाडामा विद्यार्थीहरुलाई छुट दिन माग गरिएको छ ।
जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थीे युनियनले नगर प्रमुख पुष्करराज जोशीलाई सोमबार अनुरोध पत्र बुझाउँदै विद्यार्थीहरुलाई भाडामा ४५ प्रतिशत छुट दिन माग गरेको छ । सरकारले गरेको निर्णय अनुसार स्थानीयस्तरमा विद्यार्थीहरुलाई भाडामा छुट दिनुपर्ने माग गरिएको स्ववियु अध्यक्ष रोशन भट्टले बताए ।
यस्तै नगर बसमा यात्रा गर्ने अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला र अति विपन्न वर्गलाई भाडामा छुट दिनुपर्ने, विद्यार्थीहरुको विद्यालय समयलाई ध्यानमा राखेर बस सञ्चालन हुने तालिका मिलाउनुपर्ने लगायतका मागहरु राखिएको अध्यक्ष भट्टले बताए ।
स्ववियुको अनुरोध पत्र बुझ्दै नगर प्रमुख जोशीले आएका सुझावहरुलाई ग्रहण गरेर लागू गर्ने बताएको स्ववियुले जनाएको छ ।






