बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
निङ्गलाशैनी योग साधना केन्द्र देहीमाण्डौंको आयोजनामा यही वैशाख १८ गतेदेखि २२ गतेसम्म पाँच दिवसीय निशुल्क योग विज्ञान शिविर सञ्चालनको तयारी भएको योग साधना केन्द्रका अध्यक्ष विरसिंह बोहराले बताए ।
मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपले सबल बनाउन ‘गरौं योग, रहौं निरोग’भन्ने नारासहित योग विज्ञान शिविर सञ्चालन हुने साधना केन्द्रका सुरेन्द्र बोहराले बताए ।
निशुल्क रुपमा सञ्चालन हुने योग विज्ञान शिविरमा साध्वी देवकृपाज्यूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त शिविरमा सहभागी हुनका लागि सबैलाई आग्रह समेत गरिएको छ ।
योग विज्ञान शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने बोहराले बताए । निङ्गलाशैनी योग साधना केन्द्रले पछिल्लो समयमा योग विज्ञान शिविर सञ्चालन गर्दै आएको छ । नागरिकलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्वपूर्ण भूमिका रहने गर्दछ ।





