Sagun Khabar
बैतडीका शिक्षक बोहरामाथि कुटपिट गरेको आरोपमा दार्चुलाका दुई जना पक्राउ 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भइ सेटीगाउँ मावि ककरपाखामा कार्यरत शिक्षक मानसिंह बोहरामाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा सञ्चालित रामलिला हेर्न गएका शिक्षक बोहरामाथि शुक्रबार राति कुटपिट भएको थियो । बोहरालाई कुटपिट गरेको आरोपमा शैल्यशिखर नगरपालिका–९ का २९ बर्षीय भूपेन्द्र धामी र शैल्यशिखर–५ का २५ बर्षीय राजेन्द्र रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक विक्रमबहादुर शाहीले बताए । 

शुक्रबार राति करिब ११ बजे भएको कुटपिटमा घाइते भएका बोहरालाई उनीहरुले एयरपोर्ट नजिकै छोडेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ । घाइते बोहरा शनिबार बिहान आँफै गोकुलेश्वर अस्पताल पुगेका थिए । 

उनको गोकुलेश्वरमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको र धनगढीमा उपचार भइरहेको जनाइएको छ । बोहराको अनुहारमा चोट लागेको छ भने हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी निरीक्षक शाहीले बताए । 

पक्राउ परेका दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

शिक्षक बोहरामाथि भएको कुटपिटको घटनाको चौतर्फी आलोचना समेत भइरहेको छ । रामलीला जस्तो धार्मिक अनुष्ठानमा सहभागी भएका बोहरामाथि कुटपिट हुनु निकै निन्दनीय घटना भएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update