Sagun Khabar
बैतडी अस्पताल व्यवस्थापन समिति बैठक : स्तरोन्नतिका लागि पहल गर्ने निर्णय 

बैतडी –जिल्ला अस्पताल बैतडीलाई १५ शैय्याबाट ५० शैय्याको अस्पतालमा स्तरोन्नतिका लागि पहल गर्ने निर्णय भएको छ । 

अस्पताल व्यवस्थापन समितिको आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)को अध्यक्षतामा बसेको बैठकले अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको अस्पतालका प्रमुख डा. अरविन्द जोशीले जानकारी दिए । 

जिल्ला अस्पताल बैतडीसँग ५० शैय्या क्षमताको भौतिक संरचना भएकाले अस्पताललाई स्तरोन्नति गरिनुपर्नेमा जोड दिइएको हो । 

यस्तै अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको अध्यक्ष क्षेत्रीले बताए । 

केही दिन पहिला सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा अध्यक्षसहित सदस्यहरु नियुक्त गरेपछि पहिलो बैठक आज बसेको हो । आजकै बैठकमा सदस्यहरुले पदभार समेत ग्रहण गरेका छन् । अध्यक्ष क्षेत्रीले भने केही दिन पहिला नै पदभार ग्रहण गरेका थिए । 

प्रदेश सरकारले बैतडी अस्पातल व्यवस्थापन समितिको अध्यक्ष धनबहादुर क्षेत्रीलाई नियुक्त गरेको थियो भने सदस्यहरुमा तुलसी ठगुन्ना, जनकराज भट्ट, बलबहादुर बिष्ट, गीताकुमारी टमाटा र रोशनबहादुर बोहरालाई नियुक्त गरेको थियो । 

जिल्ला अस्पताल बैतडीको सर्वाङ्गीण विकासका लागि आफूले सक्दो पहल गर्ने अध्यक्ष क्षेत्रीले बताए । जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update