बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आगामी सोमबार अर्थात वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।
संघीय सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गते र पठनपाठन वैशाख २१ गतेबाट गर्ने निर्णय गरेको भएपनि गाउँपालिकाले भर्ना अभियान वैशाख ७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय सरकारमा निहित रहेको र विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको माग अनुसार वैशाख ७ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
सोमबारबाट पालिकाभरीका सबै विद्यालयहरुलाई भर्ना अभियान र पाठ्यपुस्तक वितरणको काम गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
शैक्षिक सत्र २०८३ का लागि शिक्षकको दैनिक कार्यतालिका, कार्यविभाजन, जिम्मेवारी बाँडफाँड र बार्षिक कार्यतालिका निर्माण गर्न समेत पालिकाले आग्रह गरेको छ ।
लामो समयसम्म विद्यालय बन्द रहँदा शिक्षण क्रियाकलापमा बाधा पर्ने भएकाले सोमबारबाट भर्ना अभियान सञ्चालन गर्ने र वैशाख १४ गतेबाट पठनपाठन गर्न समेत आग्रह गरिएको अध्यक्ष साउँदले बताए ।
संघीय सरकारले भर्ना अभियान र पठनपाठन सम्बन्धमा गरेको निर्णय देशका धेरैजसो स्थानीय तहहरुले अवज्ञा गरेका छन् । समयमा पठनपाठन शुरु नहुँदा बार्षिक कार्यतालिका समेत प्रभावित हुने भएकाले स्थानीय तहहरुले चाँडै भर्ना अभियान र पठनपाठनको तयारी गरेको बताएका छन् ।





