Sagun Khabar
बैतडीमा २२ हजार बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइँदै 
फाइल फोटो

बैतडी–राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत बैतडीमा २२ हजार बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइने भएको छ । देशभरजस्तै वैशाख ६ र ७ गते बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । 

बैतडीमा ६ महिनादेखि ५९ महिनासम्मका २२ हजार ७ सय ५७ जना बालबालिकाहरुलाई भिटामीन‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको सूचना अधिकारी कार्कीले बताए । 

यस्तै जिल्लाभरीका १२ देखि ५९ महिनासम्मका २० हजार ४ सय ८३ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए ।

बैतडीमा बालबालिकाहरुलाई भिटामीन ‘ए’ क्याम्पसुल र जुकाको औषधी खुवाउनका लागि ८ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । उनीहरुले टोलटोलमा पुगेर बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

आइतबार र सोमबार दुईदिन सम्म सञ्चालन हुने राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाइने भएकाले सबैले आ–आफ्ना बालबालिकाहरुलाई नछुटाउन आग्रह गरिएको छ । आइतबार औषधी खुवाउन छुटेकाहरुलाई सोमबार खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update