बैतडी –बैतडीमा १६ हजार ४ सय ४१ परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । गरीब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा १६ हजार ४४१ परिवारका ६६ हजार २ सय ४७ जना आवद्ध रहेका स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले बताए ।
जेष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआरटी टीबी भएका व्यक्ति, कुष्ठ रोग लागेका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको जोशीले बताए । यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुको स्वास्थ्य बीमा गर्दा प्रिमियमको आधा सरकारले तिर्ने गरेको उनको भनाइ छ ।
स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि बार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेको जोशीले बताए ।
स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीको हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्यचौकी मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका छन् । यी संस्थाहरुमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरुमा पनि निशुल्क उपचार हुने गरेको जोशीले बताए ।
गरिब नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एकमुष्ट ठूलो रकम उपचारका लागि तिर्न नसक्ने नागरिकका लागि यो निकै फाइदाजनक कार्यक्रम रहेको बताइएको छ ।
गत बर्षदेखि स्वास्थ्य बीमा कार्यक्रमले जटील खालका रोगमा थप एक लाख रुपैयाँको उपचार सुविधा दिँदै आएको छ । अल्जाइमर, क्यान्सर, मुटुरोग, मृगौला रोग, हेड इञ्जुरी, स्पाइनल इञ्जुरी, सिकेलसेल एनिमिया र पार्किन्सोजिमका बिरामीहरुलाई थप एक लाख बराबरको उपचार निशुल्क उपलब्ध गराइँदै आएको छ ।
यसैबीच बैतडीमा आज एक कार्यक्रमकाबीच दशौं स्वास्थ्य बीमा दिवस मनाइएको छ । ‘राज्यको लगानी,नागरिकको योगदान : स्वास्थ्य बीमा साझा अभियान’भन्ने नारा सहित दिवसको अवसरमा अन्तरक्रियाको आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालयमा आयोजना गरिएको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख, जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउने बिषयमा छलफल भएको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जोशीले बताए ।





