बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहार धनगढीमा पक्राउ परेका छन् ।
आफ्नै स्वास्थ्य संस्थामा कार्यरत अनमी माया भट्टमाथि कुटपिट गरेको आरोपमा लुहारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार लुहारले धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भट्टमाथि इट्टा प्रहार गरी टाउको र हातमा चोट पु¥याएका थिए ।
स्थानीयवासीले अनमीमाथि कुटपिट भइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमै पुगेको प्रहरी टोलीले लुहारलाई नियन्त्रणमा लिएको जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले पीडित पक्षको निवेदनका आधारमा लुहारलाई हिरासतमा राखिएको जानकारी दिए । घाइते भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको उनले बताए ।
पीडित माया भट्टले आफू शनिबार मात्रै धनगढी पुगेको बताउँदै घटनाको पृष्ठभूमिबारे जानकारी दिएकी छन् । उनका अनुसार उनी कोटिलाबाट डडेल्धुरासम्म सुमन लुहारसँगै गएकी थिइन् त्यसपछि दुवै जना छुट्टाछुट्टै धनगढी पुगेका थिए ।
भट्टका अनुसार अर्का सहकर्मी लोगबहादुर महरासँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लुहारले विवाद शुरु गरेका थिए ।
भट्टले लुहारसँग आर्थिक लेनदेनसम्बन्धी विवाद पनि रहेको खुलाएकी छन् । उनका अनुसार लुहारले आफूलाई करिब १५–१६ लाख रुपैयाँ दिन बाँकी रहेको छ, जुन रकम उनले व्याजमा लगानी गरेको बताएकी छन् ।
पीडितका श्रीमान् वीरेन्द्र ऐर भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको जनाइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





