बैतडी–परीक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार बैतडीमा परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण कार्य धमाधम भइरहेको छ । परीक्षा भएकै दिन केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्थापन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।
देशभरीका केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशन अनुसार जिल्लाका २६ ओटै केन्द्रमा उत्तरपुस्तिका परीक्षण काम भइरहेको सूचना अधिकारी शर्माले बताए । अधिकांश केन्द्रहरुले परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षणको काम समेत सम्पन्न गरिरहेका बताइएको छ ।
सम्बन्धित केन्द्राध्यक्षले उत्तरपुस्तिका परीक्षणका लागि बिषयगत शिक्षकहरुलाई तोक्ने व्यवस्था गरिएको छ । यसरी उत्तरपुस्तिका परीक्षण गर्दा फरक विद्यालयको शिक्षकले मात्रै उत्तरपुस्तिका परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ ।
उत्तरपुस्तिका परीक्षण गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पुर्याउने र इकाइले परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । परीक्षार्थीको नतिजा भने परीक्षा नियन्त्रण कार्यालयले नै प्रविष्ट गर्ने उनले बताए ।
बैतडीमा नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थीहरुका लागि २५ ओटा केन्द्रमार्फत परीक्षा भइरहेका छन् भने प्राविधिकधारतर्फका परीक्षार्थीहरुका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा केन्द्र राखिएको छ ।
बैतडीमा यो बर्षको ४ हजार ५५१ जना परीक्षार्थीले एसईई दिइरहेका छन् । नियमिततर्फ १९ सय ६३ छात्र र १९ सय ५८ छात्रा गरी ३ हजार ९२१ परीक्षार्थी रहेका छन् ।
यस्तै ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी रहेका सूचना अधिकारी शर्माले बताए ।
बैतडीमा १३८ सामुदायिक र ८ ओटा संस्थागत गरी १४२ ओटा विद्यालयका परीक्षार्थीहरुले एसईई परीक्षा दिइरहेका उनले बताए ।





