बैतडी–बैतडीको पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविरबाट २ सय ४२ जनाले सेवा लिएका छन् ।
नगरपालिकाको वडा नं ३ स्थित गुजर स्वास्थ्यचौकी, वडा नं ९ स्थित आधारभूत स्वास्थ्य केन्द्र टकरे, वडा नं २ स्थित सिलङ्गा स्वास्थ्यचौकी र वडा नं ४ स्थित भुमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दमयन्ती ऐरले बताइन् ।
शिविरमा सेवा लिन आएका मध्ये १ सय ५५ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । ती मध्ये तीन जनामा पोजेटिभ देखिएपछि उनीहरुलाई थप उपचारका लागि सिफारिश गरिएको ऐरले बताइन् ।
यस्तै १२ जना महिलाको पाठेघर खसेको समस्याको पहिचान र व्यवस्थापन गरिएको छ भने ३५ जना गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिएको छ । अल्ट्रासाउण्ड गर्दा जटीलता देखिएका गर्भवती आमाहरुलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको जनस्वास्थ्य निरीक्षक ऐरले बताइन् ।
यस्तै शिविरका क्रममा ८ जना महिलाले लामो अवधिको परिवार योजनाको अस्थायी साधन इम्पलान्ट राखेको बताइएको छ ।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई नजिकैको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले चिकित्सकसहित शिविर सञ्चालन गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।





