Sagun Khabar
सशस्त्र प्रहरीको रक्तदानले जोगियो सुत्केरीको ज्यान 

बैतडी–बैतडीमा सशस्त्र प्रहरीको रक्तदानले एकजना सुत्केरीको ज्यान जोगिएको छ । 

प्रसूती सेवाका लागि जिल्ला अस्पतालमा उपचार गराइरहेकी दशरथचन्द नगरपालिका–४ बिनासौंकी रोशनी बिष्ट कार्कीलाई रगतको आवश्यकता परेपछि सशस्त्र प्रहरीले रक्तदान गरेको हो । 

प्रसूती सेवाका लागि अस्पताल आएकी कार्कीको शल्यक्रिया गर्दा रगतको आवश्यकता परेपछि सशस्त्र प्रहरीलाई खबर गरिएको थियो । ए पोजेटिभ रगतको आवश्यकता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी दरबन्दी भइ हाल सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवलदार गोपालसिंह कार्कीले एक पिन्ट रक्तदान गरेका हुन् । मानवीय तथा सामाजिक कार्यमा सशस्त्र प्रहरीले सदैव सहयोग गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले बताए । 

जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा रगतका लागि सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता रही आएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । अस्पतालमा रेडक्रसको अगुवाईमा मिनि ब्लड बैंकको उद्दघाटन गरिएको भएपनि सञ्चालनमा भने आउन सकेको छैन् । 

दुई दिनमा नेपाली सेना र सशस्त्र प्रहरीको रक्तदानले दुई जना सुत्केरीको ज्यान जोगिएको उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update