Sagun Khabar
महाकालीमा बगेर बेपत्ता भएका बैतडीका चन्द मृत फेला 

बैतडी–नुहाउने क्रममा बगेर बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द चार दिनपछि मृत अवस्थामा फेला परेका छन् । 

चन्दको शव महाकाली नदी किनारमा भारतीय क्षेत्रमा शुक्रबार बिहान पौने ११ बजेतिर फेला परेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदी किनारमा चन्दको शव फेला परेको उनले बताए । यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टी रहेको बताइएको छ । 

गएको मंगलबार बिहान साढे ११ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा चन्द हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो । एसएसबीको टोलीले नै उनको शव फेला पारेको हो । 

मृत फेला परेका चन्दको भारतीय क्षेत्रमै अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ । 

घटनापछि प्रहरीले महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा नुहाउने क्रममा बगेर धेरै जनाको ज्यान गइसकेकाले सीमा क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update