Sagun Khabar
एसईईको पहिलो दिन : बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित 

बैतडी–माध्यमिक शिक्षा परीक्षा (एसईइ)को पहिलो दिन बैतडीमा ५६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । 

नियमित, ग्रेडवृद्धि र प्राविधिकधारतर्फ गरेर अंग्रेजी बिषयको परीक्षामा ५६ जना परीक्षार्थी अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए । 

नियमिततर्फ १८ सय ५५ छात्र र १८ सय ७३ छात्रा गरी ३७ सय २८ जना परीक्षार्थी रहेका छन् । ती मध्ये अंग्रेजी बिषयको परीक्षामा १३ जना छात्र र २६ जना छात्रा गरी ३९ जना अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले बताए । 

ग्रेडवृद्धितर्फ जिल्लाभरी २ सय ५६ छात्र र ३ सय ७४ छात्रा गरी ६ सय ३० जना परीक्षार्थी रहेका छन् । अंग्रेजी बिषयको ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीमध्ये ६ जना छात्र र १० जना छात्रा गरी १६ जना अनुपस्थित रहेका प्राविधिक सहायक भट्टले बताए । ग्रेडवृद्धितर्फ अंग्रेजी बिषयको परीक्षामा ७६ जना छात्र र ८१ जना छात्रा गरी १ सय ५७ जनाले परीक्षामा सहभागिता जनाएका बताइएको छ । 

यस्तै प्राविधिकधारतर्फ १ सय ८ छात्र र ९७ छात्रा गरी २ सय ५ जना परीक्षार्थी रहेकोमा आजको परीक्षामा एकजना छात्र अनुपस्थित रहेका प्राविधिक सहायक भट्टले बताए । प्राविधिकधारतर्फका विद्यार्थीहरुका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा केन्द्र राखिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । 

नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थीहरुका लागि जिल्लाभरी २५ ओटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेका छन् । जिल्लाभरी यो बर्ष ४ हजार ५ सय ५१ जना परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।

जिल्लाभरी एसईई शान्तपूर्ण र मार्यादित रुपमा सञ्चालन भइरहेको अवस्थीले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update