बैतडी–बैतडीको मेलौली नगरपालिकाले आधारभूत कक्षा ८ को पालिकास्तरीय परीक्षाको परीक्षफल प्रकाशित गरेको छ । नगरपालिकाले चैत ५ गतेदेखि सञ्चालन गरेको नगरस्तरीय परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ सय ३२ जना परीक्षार्थी मध्ये २ सय २ जनामात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४६.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बताइएको छ । परीक्षाको विस्तृत नतिजा भने सम्बन्धित विद्यालयबाट प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ ।
विद्यालयलाई नगरपालिकाले प्रमाणित गरी उपलब्ध गराएको ग्रेड लेजरका आधारमा विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले जानकारी दिए । प्रमाणित ग्रेड लेजर यही चैत २० गतेदेखि वितरण गरिने जनाइएको छ ।
यस्तै, परीक्षार्थीको ग्रेड सिट तथा कक्षा ९ मा भर्ना हुन योग्य विद्यार्थीहरूको मूल प्रमाणपत्र वैशाख ५ गतेपछि सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराइने कम्प्युटर अपरेटर महेन्द्रसिंह नायकले बताए ।
यसैबीच, नतिजा चित्त नबुझेका परीक्षार्थीहरूले प्राप्ताङ्क पुनर्योगका लागि चैत २८ गतेसम्म सम्बन्धित विद्यालयको सिफारिससहित नगरपालिकामा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।




