बैतडी –बैतडीमा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका छन् ।
जिल्लाको मेलौली नगरपालिका –६ की स्थानीय इन्द्रा पोखरले सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा पुगेकी छन् ।
नगरपालिकाको शिक्षा शाखाले उनलाई प्राधानाध्यापकको जिम्मेवारी दिएको हो । शिक्षा संकायमा स्नातकोत्तर गरेकी इन्द्राले प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् ।
गएको सात वर्षदेखि सोही विद्यालयमा कार्यरत रहेकी उनलाई नगरपालिकाले प्रधानाध्यापकको जिम्मेवारी थपेपछि स्थानीय अभिभावक खुशी भएका छन् ।
दलित महिला विद्यालयको नेतृत्व तहमा पुगेपछि खुसी लागेको स्थानीय चिन्तामणी भट्टले बताए । पछिल्लो समय शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । तथ्याङ्क अनुसार जिल्लामा ५३४ वटा सामुदायिक विद्यालय रहेकोमा ८४ जना महिला प्रधानाध्यापक छन् । जसमा नौ जना दलित महिला प्रधानाध्यापक छन् ।
जिल्लाका सामुदायिक विद्यालयमध्ये १० वटा विद्यालयमा दलित पुरुष प्रधानाध्यापक रहेका बताइएको छ ।




