बैतडी –बैतडीको पाटन नगरपालिका–३ का २६ बर्षीय नरेश कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
मृतकका बुवा सेरी कोलीले दिएको किटानी जाहेरीको आधारमा मंगलबार पाटन–३ कै २६ बर्षीय दिपक भट्ट र ३२ बर्षीय दिनेश टेलरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि अदालतबाट ७ दिनको म्याद थपेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यही चैत ४ गते बिहान पाटन–६ कै भीटाभीर तल सुर्नया नदी किनारमा नरेश मृत अवस्थामा फेला परेका थिए ।
अघिल्लो दिन घरबाट पाटन बजार किनमेलका लागि गएकोमा र अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्दा नरेश मृत अवस्थामा फेला परेका थिए ।
मृतकका आफन्तहरुले नरेशको शंकास्पद मृत्यु भएको भन्दै निष्पक्ष छानबीन हुनुपर्ने माग राख्दै आएका थिए । नरेशको मृत्यु भएपछि भारतमा रोजगारी गरिरहेका उनका बुवा तीन दिनपछि नेपाल फर्र्किएका थिए ।
नरेशको शव फेला परेको अघिल्लो दिन नरेशसँगै रहेका दुईजनामाथि अनुसन्धान हुनुपर्ने भन्दै किटानी जाहेरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




