
बैतडी– नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तरगत बैतडीमा संस्थापन पक्षले प्यानल घोषणा गरेको छ । सभापति देउवा निकट पक्षले सोमबार बैतडीको दोगडाकेदार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि प्यानल घोषणा गरेको हो ।
शिवराज भट्टलाई सभापतिको उम्मेद्वार घोषणा गरेको संस्थापन पक्षमा वर्तमान जिल्ला सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामीलाई उपसभापतिको उम्मेद्वार घोषणा गरेको छ । पूर्व सभापति भट्टको नेतृत्वमा पदाधिकारीको उम्मेद्वारी घोषणा गरेको नेपाली कांग्रेसका जिल्ला सचिव एवं उपसभापतिका उम्मेद्वार बीरबहादुर बिष्टले बताए ।
यस्तै संस्थापन पक्षबाट सचिवमा रमेशसिंह भण्डारी र कर्ण बोहराले उम्मेद्वारी घोषणा गरेका छन् । यसैगरी सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई संस्थापन पक्षले अघि सारेको छ ।
पूर्व पार्टी सभापति समेत रहेका शिवराज भट्टको नेतृत्वमा प्यानल घोषणा गरिएको र यो प्यानलले नै बैतडी कांग्रेसको नेतृत्व गर्ने संस्थापन पक्षका नेताहरुले बताएका छन् ।
उता पौडेल समूहले भने चतुरबहादुर चन्दलाई पार्टी सभापतिका लागि यसअघि नै उम्मेद्वार घोषणा गरि प्रचारप्रसार समेत थालिसकेको छ । यद्यपि सो समूहले बुधबार मात्रै प्यानल घोषणाको तयारी गरेको छ ।
संस्थापन पक्षले उम्मेद्वारी घोषणा गरेपछि अब बैतडी कांग्रेसको नेतृत्वका लागि निर्वाचन हुने पक्का भएको छ । सभापतिमा शिवराज भट्ट र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
दुवै प्यानलले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् । पौडेल पक्षले आफुहरुलाई बहुमत क्षेत्रीय प्रतिनिधिको साथ रहने बताएको छ भने, सस्ंथापन पक्षले आफ्नो पक्षमा ७० प्रतिशत बहुमत आउने दाबी गरेको छ ।
बैतडीमा कांग्रेसको जिल्ला अधिवेशन असोज १५गते हुने छ ।