Sagun Khabar
बैतडीमा एसईईका लागि तोकिएका २६ केन्द्र यी हुन् 

बैतडी–यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बैतडीमा २६ ओटा केन्द्र तोकिएका छन् । साधारणतर्फ २५ र प्राविधिक धारतर्फ १ गरेर जिल्लाभरी २६ ओटा केन्द्र तोकिएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए । 

प्राविधिक धारतर्फको पढाइ हुने विद्यालयका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा केन्द्र राखिएको भट्टले जानकारी दिए । 

अन्य केन्द्रहरुमा विरेन्द्र मावि शाहीलेक, निङ्गलाशैनी मावि देहीमाण्डौं, कृष्ण मावि पाटन, सनातन धर्म मावि श्रीकोट, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा मेलौली, दुर्गा मावि खलिगाड, विजयपुर मावि तितावै, सेटीगाउँ मावि ककरपाखा, ज्ञानेश्वर मावि विजयपुर, कुलाउ मावि कुलाउ, मणिलेक मावि गुरुखोला, दुर्गा मावि सिमार, रौलेश्वर मावि रामकीबरायल, केदारनागार्जुन मावि बगलेखान, खेती मावि तल्लादेही, शिक्षा केन्द्र अमर मावि धामीगाउँ, दशरथचन्द मावि सुन्दरखाली, लेकलुपण मावि गढ, पहरौल मावि बागा, नेपाल राष्ट्रिय मावि ग्वानी, केदार मावि पिपलकोट,महेश्वरी मावि न्वाघर र नागार्जुन मावि शर्माली रहेका छन् । 

एसईईका लागि तोकिएका केन्द्रहरुमा केन्द्राध्यक्ष नियुक्त गरेर उनीहरुलाई अभिमुखीकरण समेत दिइसकेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए । सबै केन्द्रहरुमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको उनले बताए । 

बैतडीमा यो बर्षको एसईईमा ४ हजार ५५१ जना परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ १९ सय ६३ छात्र र १९ सय ५८ छात्रा गरी ३ हजार ९२१ परीक्षार्थी सहभागी हुने सूचना अधिकारी पुष्कर शर्माले बताए । 

यस्तै ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी सहभागी हुने बताइएको छ । बैतडीमा १३८ सामुदायिक र ८ ओटा संस्थागत गरी १४२ ओटा  विद्यालयका परीक्षार्थीहरुले एसईईमा सहभागिता जनाउने उनले बताए । 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update