Sagun Khabar
बैतडीको सुर्नया र पाटनमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन हुने भएको छ । सम्बन्धित पालिकाहरुको आयोजनामा शिविर सञ्चालनको तयारी भएको हो । 

सुर्नया गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा आइतबारदेखि शिविर सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 

उनका अनुसार आइतबार वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुनेछ । चैत १६ गते वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकी, १७ गते शंकरपुर स्वास्थ्यचौकी, २० गते रौलेश्वर स्वास्थ्यचौकी र २१ गते भौनेली स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने महराले बताए । 

यस्तै पाटन नगरपालिकाले चैत १६ गते वडा नं २ स्थित सिलङ्गा स्वास्थ्यचौकी र चैत १७ गते वडा नं ४ स्थित भुमेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने शिविरमा पाठेघर खस्ने समस्या जाँच, उपचार र परामर्श, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सरको स्क्रिनिङ, प्रसप फिस्टुलाको स्क्रिनिङ, तल्लो पेटको दुखाइ हुने, सेतो पानी बग्ने समस्याको जाँच र उपचार, परिवार नियोजनको लामो अवधिको साधन इम्पलान्ट राखिने र गर्भवती महिलाहरुको निशुल्क अल्ट्रासाउण्ड सेवा दिइने बताइएको छ । 

ग्रामीण क्षेत्रका महिलाहरुलाई उनीहरुकै नजिकको स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्यका विभिन्न सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । शिविरमा आएर सेवा लिन उनले सबैमा आग्रह समेत गरेका छन् । 

यस्तै पाटनका केही स्वास्थ्य संस्थाहरुमा यसअघि नै शिविर सम्पन्न भइसकेको र केही स्वास्थ्य संस्थाका अब शिविर सञ्चालनको तयारी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update