बैतडी –बैतडीमा यो बर्ष क्षयरोगका ८७ जना नयाँ बिरामी फेला परेका छन् । ६६ जना पुरुष र २१ जना महिला गरि अहिलेसम्म ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा २ सय ३ जना क्षयरोगका बिरामी फेला परेकोमा यो वर्ष ८७ जनामा क्षयरोग पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्रसिंह कार्कीले बताए ।
नयाँ फेला परेको ८७ जनाले नियतिम औषधी सेवन गरिरहेका उनले बताए । सूचना अधिकारी कार्कीका अनुसार यो अवधीमा ३ पुरुषको क्षयरोगका कारण मृत्यु भएको छ ।
क्षयरोगीको पहिचानका लागि जिल्लामा अभियानलाई तिव्र पारिएको छ । विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोग पहिचान अभियानलाई तीव्र बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । तर अझै पनि अपेक्षाकृत रुपमा क्षयरोगका बिरामी फेला पर्न सकेका छैनन् ।
बैतडीको सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालनमा रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।
विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् ।




